उ. मल (खाद)
कम्तिमा महिनामा एक पटक गमलामा हुर्किने बिरुवामा मल हाल्नु पर्छ । यो गँड्यौला मल, गाईको गोबर, जीवामृत (जीवाणुको बृद्धिको लागि पानी, गाईको पिसाब र पिठो मिसाएर बनाइएको प्राकृतिक तरल मल) वा घरेलु मल (तरकारीको डण्डी, फलफूलको बोक्रा, प्याज र लसुनको बोक्रा आदिबाट बनाइएको मल हुन सक्छ।) । हप्तामा एक पटक बिरुवालाई १० देखि २० एमएल गोमुत्र (गाईको पिसाब) पानीमा मिसाएर छर्कन सकिन्छ । यदि तपाई गाईवस्तु पाल्नु हुन्छ भने गाईको गोबर, गाईको पिसाब, गुड़ वा दालको पीठो जस्तै चना दाल, रहर दाल, मासको दाल इत्यादि मिसाएर प्राकृतिक मल बनाउन सक्नु हुन्छ । यसले बिरुवाको वृद्धि र माटोको गुणस्तर सुधार गर्न मद्दत गर्दछ । यो मल उत्कृष्ट गुणस्तरको हुन्छ र सजिलै घरमा तयार गर्न सकिन्छ ।
१. जीवामृत बनाउने तरीका
जीवामृत गोमुत्र (गाईको मूत्र), गाईको गोबर, गुड़ र दालको पीठोबाट बनाइन्छ । करिब २०० लिटर पानी लिई त्यसमा १० लिटर गोमुत्र, १० किलो गाईको गोबर, १ किलो पहेंलो वा कालो गुड र १ किलो दाल (चना दाल, रहर दाल, मासको दाल आदि) मिसाइन्छ । यो मिश्रण ८ दिनको लागि भण्डारण गरिन्छ र दिनको दुई पटक, लठ्ठीले बिस्तारै हलाउँछ । यो मलको थोरै मात्रा अनुपात कायम राखेर तयार गर्न पनि सकिन्छ । ८ दिन भित्रमा यो मलले बिरुवाको बृद्धिको लागि प्रचुर मात्रामा जीवाणु उत्पादन गर्छ । यो मलले बिरुवालाई आवश्यक पोषक तत्व प्रदान गर्दछ ।
यदि कुनै बिरुवामा कीरा वा रोग लागेमा निम वा सुर्ती, लसुन र खुर्सानीको रस किटनाशक भएकाले छर्किनुपर्छ । हरेक पटक एउटै रस प्रयोग गर्नुको सट्टा फरक फरक रस पालै पालो प्रयोग गर्न सकिन्छ ।
ऊ. कम्पोस्ट भाँडा (माटो बिना)
भाँडामा तरकारी उब्जाउनको लागि पर्याप्त मात्रामा ओसिलोपन, हावाको हलचल, उचित मात्रामा पानीको निकास र जराको सहज वृद्धि आवश्यक हुन्छ । खेतमा बिरुवा रोप्दा, बिरुवालाई दिइएको अतिरिक्त पानी माटोको गहिराइमा पुग्छ, तर छतको बगैंचामा भाँडामा जतिसुकै प्वालहरु भएपनि, भाँडामा रहेको माटोमा पानी कायम भइरहन्छ । फलस्वरूप, बिरुवाको वृद्धिलाई असर गर्दै वायु परिसंचरणमा बाधा पुग्छ । यसबाट बच्न, छत बागवाणीमा सम्भव भएसम्म न्यूनतम माटो प्रयोग गरिन्छ । यसको सट्टा, भिजेको र सुक्खा फोहोर प्रयोग गरिन्छ । विगत केही वर्षहरूमा, माटो-कम (वा न्यूनतम माटो प्रयोग गरेर) छत बागवाणी (टेरेस गार्डनिङ) को अवधारणा अधिक लोकप्रिय हुँदै गइरहेको छ ।
१. माटो-रहित खेतीका लागि भाँडा तयार गर्न आवश्यक सामग्रीहरु
सुक्खा फोहोर (नरिवलको भुसी हातले राम्ररी टुक्राएको, धानको भुसी, उखुको फोहोर, सुकेको पात, बालुवा, इँटाका साना टुक्रा), भिजेको फोहोर (राम्रो मल/गँड्यौला मल, नीमको तेल, बायो-कल्चर, भान्साको फोहोर) र कल्चर (दही बनाउनको लागि दूधमा मिसाइएको बिऊ दही जस्तै मल बनाउने प्रक्रियाको उत्प्रेरक)
२. रोप्नको लागि भाँडा भर्ने तरिका
कम्पोष्ट मल बनाउन ३० प्रतिशत भिजेको फोहोर र ७० प्रतिशत सुक्खा फोहोर यस अनुपातमा लिनुहोस् । भिजेको फोहोरमा तरकारीको डाँठ, सुकेको पात, फलफूलको बोक्रा, बीउ, प्रयोग गरिएको चिया पाउडर, संक्रमित खाद्यान्न, बासी खाना र फलफूलको सडेको भाग समावेश गर्न सकिन्छ । कृपया यसमा तेल वा मसालेदार बासी खाना प्रयोग नगर्नुहोस् । यदि तपाइँ यस्तो खानेकुरा प्रयोग गर्न चाहनुहुन्छ भने, त्यसमा तेल, नुन र मसलाहरू हटाउन छलनीमा राखेर पानीले धुनुहोस् । रुखको घासपात, सुक्खा पात र हाँगाहरु सुक्खा फोहरमा समावेश हुन्छन् । भाँडाको फेदमा सुकेका पातहरू र गीलो घास-पात वा राम्रोसँग मसिनो बनाएको नरिवलको भुसी फैलाउनुहोस् । यसमा केही कल्चर (छीटो कुहीनको लागि मद्दत गर्न) थप्नुहोस् । लोकल गाईको गोबर कल्चरको रुपमा उत्कृष्ट मानिन्छ छ । कल्चर प्रयोग गर्नु अघि पानीमा मिसाउनु पर्छ । व्यवसायिक रूपमा विभिन्न प्रकारका कल्चरहरू उपलब्ध भएता पनि लोकल गाईको गोबर वा अमिलो मही, दही र गुड़को पानी कल्चरको प्राकृतिक रूप हो । सुक्खा फोहोरमा कल्चर थपेपछि त्यसको माथि भिजेको फोहोर मिसाउनुपर्छ । भिजेको फोहोर थप्नु अघि पीस्नु पर्छ । यसले सड्ने प्रक्रियालाई बढाउँछ । सुक्खा फोहोर र कल्चरको एक तह थप्नुहोस् जबसम्म भाँडाको किनारा भन्दा २ इन्च तल भरिदैन । अन्तमा सुती कपडाले भाँडा छोप्नुहोस् । प्रत्येक ३ दिनमा फोहोर राम्रोसँग मिसाउनु पर्छ । हप्तामा एक वा दुई पटक यसमा कल्चर थप्नुहोस् र कीराहरू हुन नदिन नीमको पातहरू थप्नुहोस् । यदि नीमको पातहरू उपलब्ध छैनन् भने, नीमको तेल बनाउदा बाकी भएको छोकरा प्रयोग गर्न सकिन्छ । यदि कम्पोस्टमा कीराहरू विकास भएमा, केही सुकेका पातहरू वा मल्च (mulch) थप्नुहोस् । यदि तपाई माटो प्रयोग गर्न चाहनुहुन्छ भने, नरिवलको भुसीको तह माथि दोस्रो तहको रूपमा थप्नुहोस् । थप तहहरूमा माटो प्रयोग नगर्नुहोस् । फोहोरबाट कम्पोष्ट मल बनाउँदा फोहोर विघटन हुनुपर्छ, सड्ने हुनु हुँदैन । (विघटन एक प्राकृतिक प्रक्रिया हो जबकि सड्नु अप्राकृतिक हो । विघटन परोपकारी सूक्ष्मजीवहरूद्वारा भएको हो र सड्ने प्रक्रिया नकारात्मक सूक्ष्मजीवहरूको कारण हुन्छ । अक्सिजन उपलब्ध भएमा मात्र विघटन हुन्छ र अक्सिजनको अभावमा सड्ने गर्छ । विघटन हुँदा कडा गन्ध आउँदैन तर सड्दाँ कडा दुर्गन्ध आउँदछ) । यस प्रक्रियामा, तपाईले सड्ने प्रक्रियालाई बढावा दिन राष्ट्रिय जैविक खेती केन्द्रको ‘वेस्ट डिकम्पोजर’ प्रयोग गर्न सक्नुहुन्छ । यदि मलबाट दुर्गन्ध निस्कन्छ भने, पानीमा आधा चम्चा बेसार वा हींग मिसाएर मल माथि हाल्नुहोस् ।
यसरी २ देखि ३ महिनामा राम्रो गुणस्तरको कम्पोष्ट मल पाउन सकिन्छ । कम्पोष्ट मललाई २ देखि ३ घण्टा घाममा सुकाउनुहोस् । कम्पोष्ट मल तयार भएपछि भिजेको माटोको गन्ध आउँछ । यसलाई बिरुवा रोप्न वा बीउ छर्न वा मलको रूपमा प्रयोग गर्न सकिन्छ । यस्तो कम्पोस्ट मल प्रयोग गर्दा अन्य मलखाद प्रयोग गर्न आवश्यकता पर्दैन । भिजेको फोहोरलाई यसरी भाँडामा राख्दा त्यसबाट कुनै प्रकारको गन्ध आउँदैन । साथै, यसले फोहोरको कारणले हुने प्रदूषणलाई रोक्छ र वातावरण संरक्षण गर्दछ । भाँडामा भिजेको फोहोरले पानीको मात्रा बानाइ राख्दछ त्यसैले पटक-पटक पानी हाली राख्नु पर्दैन ।
ए. बीउबाट बिरुवा बनाउने
भाँडा तयार भएपछि कि त बिरुवा रोप्न सकिन्छ वा बीउ छर्न सक्छौं । यदि बीउहरू साना छन् भने, बीउको दुई चिम्टी बराबर दूरीमा छर्क्नुहोस् र माटोको तहले छोप्नुहोस्, बीउको आकारको तीन गुणा तह बनाउनुहोस् । त्यसपछि एक मगमा पानी लिनुहोस् र आफ्नो हातले माटोमा पानी छर्क्नुहोस् । तपाई ट्रेमा बीउ पनि जमाउन सक्नुहुन्छ । ५ देखि ६ पातहरू देखा पर्दा, बिरुवालाई भाँडामा स्थानान्तरण गर्नुहोस् । यो गर्दा बिरुवा छायामा राख्नुहोस् । प्रत्यक्ष घामबाट जोगाउनुहोस् किन कि यसले जरा सुकाउन सक्छ र बिरुवालाई मार्न सक्छ । भाँडामा बिरुवा स्थानान्तरण गर्दा माटोको साथ उखाल्नुहोस् । केहि बिरुवाहरू जस्तै गुलाफ, घण्डी फूल (हिबिस्कस) बिरुवाको रूपमा उब्जाउन सकिँदैन, तिनीहरूका हाँगाहरू विशेष रूपमा काटेर माटोमा रोप्दा नयाँ बिरुवाहरू जन्मन्छ ।
१. जैविक बीउको महत्व
आज बजारमा विभिन्न किसिमका बीउ उपलब्ध भए पनि अर्गानिक बीउ सबैभन्दा राम्रो हुन्छ । जेनेटिक इन्जिनियरिङ प्रविधिबाट उत्पादित बीउहरूले राम्रो
उत्पादन दिन सक्ने भए तापनि तिनीहरू प्रकृतिमैत्री छैनन् । वास्तवमा हाइब्रिड बीउको प्रवद्र्धन भनेको परम्परागत नेपाली खेतीलाई बर्बाद गर्ने षड्यन्त्र हो । अर्गानिक बीउहरूमा स्थानीय वातावरणमा टिक्नको लागि अन्तर्निहित प्राकृतिक जीनहरू हुन्छन् । तिनीहरू अधिक उर्वर र पौष्टिक हुन्छन् र स्थानीय किसानबाट खरिद गर्न सकिन्छ । यदि बीउ शुद्ध छ भने त्यसबाट हुर्किने बिरुवा स्वस्थ र ताजा हुन्छ ।
ऐ. सूर्यको किरण
तरकारी खेती गर्दा केही मात्रामा तातो चाहिन्छ । बिरुवाहरू घाममा राम्रोसँग बढ्छन् । यो साँचो भएता पनि यसको मतलब यो होइन कि यदि बिरुवाहरूलाई पर्याप्त सूर्यको प्रकाश प्राप्त भएन भने बढ्दै बढ्दैनन् । विशेष गरी सहरहरूमा यदि बिरुवाहरू छतमा वा झ्यालको सिलहरूमा हुर्काइन्छ भने, पर्याप्त सूर्यको प्रकाशको उपलब्धता एक समस्या हुन सक्छ । यस्तो अवस्थामा, तरकारीहरू उब्जाउन सकिन्छ, यद्यपि, तिनीहरू पर्याप्त घाममा उब्जनी जत्तिकै पौष्टिक हुँदैनन् । प्रकृतिको नियम अनुसार सूर्यको किरण बिना हुर्किने बिरुवाका पातको आकार ठुलो हुन्छ । करकलो, मरिजको बोट, सुपारी, क्रस्सन्ड्रा इन्फन्डिबुलिफर्मिस कम घाममा पनि बढ्न सक्ने बिरुवाहरु हुन् ।
ओ. पानी
अत्यधिक पानीले बिरुवालाई मार्न सक्छ । धेरैजसो मानिसहरुले भाँडामा हुर्कने बिरुवालाई धेरै पानी दिने बानी हुन्छ । तर यो आवश्यक छैन । अन्जली भरि पानी छर्कन सकिन्छ । भोलिपल्ट पातको टुप्पो अलिकति सुकेको देखिएमा पानीको मात्रा उपयुक्त थियो भनी अनुमान लगाउन सकिन्छ । एउटा भाँडाको लागि लगभग आधा कप पानी चाहिन्छ । तर, तपाई यसलाई अवलोकनको साथ समायोजन गर्न सक्नुहुन्छ । पानीको मात्रा पनि मौसममा भर पर्छ । गर्मीमा, बिरुवाहरूलाई तुलनात्मक रूपमा बढी पानी चाहिन्छ । यदि बिरुवा सानो छ भने, थोरै मात्रामा पानी पर्याप्त हुन्छ सानो बच्चालाई जस्तै । हुर्केको बोटलाई बढी पानी चाहिन्छ । जति धेरै तपाई आफ्नो बिरुवाहरूसँग कुरा गर्नुहुन्छ र तिनीहरूलाई अवलोकन गर्नुहुन्छ, तपाईको निर्णय राम्रो हुन्छ । यदि तपाईले भाँडामा हाल्नु भएको पानी बढी भएर बाहिर आउँदछ भने भाँडामा नरिवलको भुसी वा सुकेको पातहरू थप्नुहोस् । बिरुवालाई बिहान पानी दिनुहोस्, बेलुका पानी नदिनुहोस् । पातहरूमा पानी खन्याउनबाट बच्नुहोस् । यदि आवश्यक भएमा, पातहरूमा पानी यसरी छर्क्नुहोस् कि साँझसम्म पानी सुक्छ । तर गर्मीमा बिरुवालाई चिसो पानी दुई पटक दिनुहोस्। पानी परेको बेला वा पानी परेको भोलिपल्ट बिरुवालाई पानी नदिनुहोस् ।
औ. सन्तुलित पोषक तत्व
बिरुवालाई पानीसँगै सन्तुलित पोषक तत्व पनि चाहिन्छ । अधिक मल दिदा यसले बिरुवाको वृद्धिमा मद्दत गर्दैन । बिरुवालाई आवश्यकता अनुसार पर्याप्त मल दिनुपर्छ । सामान्यतया, जीवामृत वा जैविक मलबाट बिरुवाले उचित मात्रामा पर्याप्त पोषक तत्व प्राप्त गर्दछ । बिरुवालाई कति मल दिने हो वा कहिले मल किन्ने भन्ने विषयमा उचित अध्ययन वा विज्ञको निर्देशनका आधारमा निर्णय गर्न सकिन्छ ।
अं. फाइदाहरु
यसरी घरमै खेतीपाती वा बागवानी गरेर परिवारको ५० प्रतिशत तरकारीको आवश्यकता पूर्ति गर्न सकिने उपज पाउन सकिन्छ । जग्गाको उपलब्धताका आधारमा सम्पूर्ण परिवारको तरकारीको आवश्यकता पूरा गर्न सकिन्छ । यस्ता तरकारीहरू कीटनाशक मुक्त मात्र होइन पौष्टिक पनि हुन्छन् । यसका साथै आफ्नै प्रयासले घरमा फलेको तरकारी खाँदा खुसी र आत्मीयताको अनुभूति हुन्छ । यसका साथै हाम्रो फोहोर घरमै फाल्ने भएकाले वातावरण पनि सुरक्षित हुन्छ ।
अः केहि अन्य उल्लेखनीय बिन्दुहरु
भाँडा मुनि राख्नको लागि थाल
घरमा तरकारी खेती गर्दा सम्भव भएसम्म मौसम अनुसार तरकारी खेती गर्नुहोस् । सबै बिरुवाहरू हुर्किन्छ भनेर सुनिश्चित गर्न सकिँदैन । केहि बिरुवाहरू कीराहरूबाट संक्रमित हुन सक्छन्, तर त्यो स्वाभाविक हो । कीराहरूले बोटबिरुवामा आक्रमण गरेझैं कीरा खाने ब्याक्टेरिया वा चराहरूले तिनीहरूलाई आक्रमण गर्छन्, र प्रकृतिको चक्र जारी रहन्छ । छोटो जरा भएका बिरुवाहरू सामान्यतया छतमा बागवानीको लागि छनौट गरिन्छ । पहिला तपाई कुन बिरुवाहरू लगाउन चाहनुहुन्छ निर्णय गर्नुहोस् । भवन वा घरको छाना ठूला रूखको भार सहन सक्ने बलियो भएमा आँप, अमला आदि रूखहरू लगाउन सकिन्छ ।
यदि कसैले छतमा माटो भरेर बिरुवा उब्जाउन चाहन्छ भने, पहिले छतलाई वाटरप्रुफ बनाउनु पर्छ । यदि वाटरप्रूफिङ सम्भव छैन भने, तिरपाल प्रयोग गर्नुहोस् वा भाँडाहरू मुनि पानीको निकासको लागि थालहरू प्रयोग गर्नुहोस् । यी बजारमा उपलब्ध छन् । गमलामा पनि बागवानी गर्न सकिन्छ । छतमा बागवाणी बर्षा सुरु हुनु अघि सुरु गर्नुपर्छ, तर तिव्र गर्मी कम भएपछि गर्नुहोस् । यदि छतमा धेरै घाम लाग्छ भने, बिरुवाहरूलाई बगैंचामा लगाउने जाली वा लामखुट्टेको लागि प्रयोग गर्ने जाली छाया प्रदान गर्न प्रयोग गर्न सकिन्छ । छतमा बिरुवाहरूलाई पानी दिन नियमित पानी आपूर्तिको आवश्यकता हुन्छ । यदि तपाईले छतमा बागवाणीको लागि दैनिक एक घण्टा मात्र दिएर सुरु गर्नुभयो भने, तपाई सजिलैसँग आफ्नो घरको प्रयोगको लागि तरकारी उत्पादन गर्न सक्नुहुन्छ ।
– संकलक: श्रीमती गौरी नीलेश कुलकर्णी, सनातन आश्रम, रामनाथी, गोवा
छतमा बागवाणी (टेरेस गार्डनिङ) को बारेमा थप विवरणहरूको लागि तपाई निम्न भिडियोहरू हेर्न सक्नुहुन्छhttps://www.youtube.com/watch?v=RSkpz4rElKQ |
साधक तथा पाठकहरुलाई अपीलयदि कुनै पाठकले यस लेखमा व्याख्या गरिए अनुसार टेरेस गार्डनिङ गर्दै हुनुहुन्छ भने, हामी उनीहरूलाई अन्य पाठकहरूलाई उपयोगी हुने अनुभवहरू बताउन अनुरोध गर्दछौं । साथै यदि तपाई हाइड्रोपोनिक्स जस्ता अन्य प्रविधिहरू प्रयोग गरेर राम्रो उत्पादकत्व भएको सानो क्षेत्रमा बगैंचा गर्दै हुनुहुन्छ भने कृपया हामीलाई तल दिइएको ठेगानामा लेख पठाउनुहोस् ताकि हामी हाम्रा पाठकहरूको फाइदाको लागि हाम्रो वेबसाइटमा प्रकाशित गर्न सकौं । Mrs. Bhagyashree Sawant, c/o Sanatan Ashram, 24/B Ramnathi, Bandivade, Ponda, Goa 403401Ph no : 7058885610e-mail id : [email protected] |